काठमाडौं, २८ चैत । चैत १५ गते राजावादी समर्थकले मच्याएको उत्पातका कारण एभिन्युज टेलिभिजनका क्यामेरापर्सन दिनेश रजकले ज्यान गुमाए ।
त्यहि १५ गतेको आन्दोलनमा दुई जनाको ज्यान मात्रै गएन । आन्दोलनकारीले तीनकुने नजिकैका केही घरलाई ढुंगामुढा गरेर छियाछिया बनाई दिए भने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडमा तोडफोड र आगजनी गर्दा करीब २८ करोड बराबरको क्षति गराएको भन्ने प्रारम्भिक अनुमान बाहिर आएको छ ।
बहुलट्टीपूर्ण स्वाभावका प्रसाईँको नेतृत्वमा भएको चैत १५ कै हिंसात्मक प्रदर्शनमा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोर पुगेर तोडफोड र लुटपाट गर्ने हर्कत पनि भए । लाखौँको त्यहाँ क्षति भयो । भाटभटेनीका सुरक्षा गार्ड दुुलप्रसाद पराजुली एक्लैले प्रतिकार गरेर त्यहाँ ‘बहादुरी’ देखाएका कारण आन्दोलनका नाममा लुटपाट मच्याउने समूह तितरवितर भयो र थप ठूलो क्षति हुनबाट जोगियो ।
चैत १५ मा गलत व्यक्तिले नेतृत्व गरेको आन्दोलनका क्रममा भएका केही मानवीय र केही भौतिक क्षतिका यी केही उदाहरणहरु मात्रै हुन् । त्यहि आन्दोलनका कारण सयौँ घाइते भएका छन् भने कतिपयचाँहि आफ्नो गल्ती विना नै गोली र छर्रा खाएर अहिले अस्पतालको शैयामा उपचार गराइरहेका छन् । मैले यहाँ चर्चा गर्न खोजेको चाँहि त्यहि आन्दोलनमा घाइते भएर केएमसी अस्पतालमा उपचार गराइरहेका ६ जना पात्रसँगै चार दिन विताउँदा उनीहरुका अनुभव, परिवारले खेपेको हैरानी र यस्तो बहुलठ्ठीपूर्ण व्यक्तिको नेतृत्वमा हुने आन्दोलनका कारण व्यहोर्नुपर्ने क्षतिलगायतका विषयलाई केन्द्रित गरेर यो आलेख तयार गर्ने प्रयास गरेको छु ।
चैत १५ गतेको हिंसात्मक आन्दोलनका कारण तीनकुने, कोटेश्वर, जटिबुटी, शान्तिनगर, सिनामंगललगायतका क्षेत्र सबै भन्दा बढी प्रभावित भए । त्यहिँ आन्दोलनमा घाइते भएका ६ जनासँग मेरो सिनामंगलस्थित केएमसी अस्पतालको प्लास्टिक सर्जरी वार्डमासँगै चार दिन वित्यो ।
म मेरो बुबा ससुरा बुबाको उपचारका लागि त्यहि अस्पतालमा शनिबार पुगेको थिएँ । डाक्टरहरुको सल्लाह अनुसार नै मैले बुबालाई शनिबार त्यहि अस्पतालमा भर्ना गरेको थिएँ । सर्जरी वार्डमा बेड खाली नभएपछि नर्सहरुले प्लास्टिक सर्जरी वार्डमा राख्ने तयारी गरेका रहेछन् ।
केएमसी अस्पतालको चौथो तलामा रहेको सर्जरी वार्डमा बेड खाली नभएपछि नर्सहरुकै सल्लाहमा बुबालाई साँझपख अस्पतालको दोस्रो तलमा रहेको प्लास्टिक सर्जरी वार्डमा झारियो । त्यहाँ मुख्य गरेर प्लाष्टिक सर्जरीका विरामीलाई राखिने भए पनि अन्त बेड नभएका कारण बुबालाई त्यहाँ राख्ने व्यवस्था गरिएको थियो । ११ वटा बेड रहेको त्यो वार्डमा ६ जनाचाँहि राजावादीहरुले गरेको आन्दोलनमा घाइते भएकाहरुलाई राखिएको रहेछ । बुबालाई बेडमा राखेपछि बेलुका उतै बस्ने र बुबालाई खाना पनि लिएर जाने भनेर म कोठामा पुगेर खाना बनाएर लिएर अस्पताल पुग्दा बुबाले मलाई सानो स्वरमा ‘यहाँ त सबै जना गोली खाएर आएका रहेछन नि’ भन्नुभयो । सुरुमा त म अलमलमा परेँ । पछि कुरो बुझ्दा उनीहरु चैत १५ को आन्दोलनमा घाइते बनेकाहरु रहेछन् ।
आशिष बोहोरा बेड नम्बर– २५९
बुबासँगै रहेको रहेको २५९ नम्बरको बेडमा २४ वर्षीय आशिष बोहोरा ‘एैया आत्था’ गर्दै छटपटाई रहनु भएको थियो । आशिषका बुबा हर्कुस मलिन चेहरामा छोरो आशिषको स्याहार–सुसारमा तल्लिन हुनुहुन्थ्यो । जति पटक छोरा आशिषको मुखबाट ‘एैया आत्था’ को आवाज निस्किन्छ त्यति नै पटक उहाँ छोराको टाउको सुमसुम्याउनु हुन्थ्यो र ‘बाबु चिन्ता नलिउ छिट्टै ठिक हुन्छ’ भन्नुहुन्थ्यो र आफू सम्हालिने प्रयास गर्दै छोरालाई सान्त्वना दिनुहुन्थ्यो । तर, अनाहकमा आफ्नो छोराको हिपमा लागेको गोली र त्यसको पीडाले छटपटाइरहेका छोराको चित्कारका सामू उहाँको मुहारमा भने कुनै चमक देखिँदैनथ्यो । उहाँलाई मैले त्यो साँझ केही बोलाउने प्रयास गरेँ । तर, अँह १ उहाँको मुहारमा कुनै खुशीको भाव देखिँदनथ्यो । सोधेका प्रश्नहरुमा पनि खुलेर उहाँले जवाफ नदिएपछि मैले पनि उहाँको पीडाबोधलाई ख्यालमा राखेर धेरै सोधिखोजीको प्रयास गरिँन । भोलिपल्ट आइतबार विहानै आशिषको शरीरबाट धातुको गोलीका छर्राहरु अपरेशन गरेर झिकेपछि भने हर्कुसको मुहारमा केही हर्क छाएको प्रष्ट देखिन्थ्यो ।
आफ्नै बलबुतामा काठमाडौंमा आफ्ना सन्तानलाई राम्रै शिक्षा–दीक्षा दिदैँ आउनु हर्कुसका २१ वर्षीय छोरा आशिष सुभश्री कलेजमा वीवीए छैटौँ समेष्टारका विद्यार्थी हुनुहुँदो रहेछ । गजलमा चासो राख्ने आशिष फुर्सदको समयमा फार्मेसीमा मार्केटिङको काम गर्नु हुने रहेछ । शुक्रबार पनि उहाँ आन्दोलनमा होइन आफ्नै कामका लागि कोटेश्वरलगायतका ठाउँमा जाँदा त्यो दुर्घटनामा पुग्नु भएको रहेछ । ‘म आफ्नै काममा जाँदा जडिबुटी– मनोहरा पुल नजिक टायर बालिरहेको देखेँ । त्यहाँ मोटरसाइकल साइड लगाएर आफुँ पनि साइडबाटै आन्दोलन हेँदै थिएँ । त्यही बेला हिपमा गोली लागेछ,’ अलिक ठट्यौलीपाराका आशिषले मसँग विस्तारै घुलमेल हुँदै गएपछि भन्नुभयो, ‘सुरुमा त करेन्ट लागे जस्तो भएको थियो । १० मिनेट जतिपछि गोली लागेको थाहाँ पाएँ । म आन्दोलनकारी भएर होइन काममा जाँदा गोली खाएँ ।’
२१ को वयमा हिँड्दै गरेका आशिषको जिउडाल र मुहार पनि कुनै चलचित्र वा म्युजिक भिडियोमा खेल्ने नायकको भन्दा कम थिएन । मैले पनि निकै नजिक भएपछि आशिषलाई ठट्टैठट्टामा ‘हिरो अब गोलीका छर्छा लागेको ठाउँ ठिकठाक भएपछि म्युजिक भिडियो खेल्नुपर्छ’ भनेर भनेको थिएँ । आशिषले त्यो ख्याल गरिरहनु भएको रहेछ । गजल लेखनमा विशेष रुचि भएका आशिषले आज छुट्ने बेलामा कशिलो हात मिलाएपछि मन्दमुस्कासहित भन्नुभयो– ‘अंकल म्युजिक भिडियो खेल्ने रहर जगाई दिनुभयो । तपाईँ पनि कोशिस गर्नु । मिल्यो भने खेल्नुपर्ला ।’ मैले पनि उहाँको ढाडमा विस्तारै धाप मार्दै ‘शुभकामना’ भनेर निस्किएँ ।
अझै केही दिन थप उपचारका लागि अस्पतालमै बस्नुपर्ने अवस्थामा रहनु भएका आशिषका बुबा अहिले पनि छोरा पूर्णरुपमा ठिक होस भन्ने बाहेक अरु केही नभएको बताउहुन्छ । यसरी आन्दोलनका नाममा होस या आन्दोलनकारीलाई कमजोर बनाउने नाममा राज्य पक्षबाट भएका कमजोरी हुन् दुबै गलत भएको भन्नेसम्म प्रतिक्रिया दिने अवस्थामा हुनुुहुन्छ । ‘मेरो छोरो आन्दोलनकारी होइन, आफ्नो काममा गएको छोरो यसरी घाइते भएर फर्किँदा रोएको मन अझै फर्किन सकेको छैन,’ म बुबालाई डिस्चार्ज गरेर फर्किने बेलामा पनि अस्पतालको गेटसम्म नै आएर भावुक हुँदै भन्नुभयो, ‘हामी नेपालको नागरिक हौँ । हामी नागरिक भएको नताले हामीले राज्यसँग सुरक्षित बाच्न पाउने अधिकार मात्रै मागेका छौँ । आफ्नो गरिखाँदा पनि यसरी मेरो छोराले गोली खानुपर्यो । हामीलाई राज्यले र आन्दोलनकारी दुबैले अब थप पीडा नदिए पुग्छ ।’
उहाँको मिडियाहरुसँग पनि एउटै माग छ । ‘हामीलाई न्याय दिने मात्रै काम राज्य र आन्दोलनकारीका पक्षबाट होस् । हामीलाई थप गिजोलेर पीडा थप्ने काम नहोस्,’ छुट्ने बेलामा पनि उहाँले त्यहि भन्नुभयो ।
विकाशकुमार गौतम बेड नम्बर–२५५
केएमसी अस्पतालको प्लाष्टिक सर्जरी वार्डकै बेड नम्बर– २५५ मा रहनु भएका विकास गौतको पुख्र्यौली घर काभ्रे भए पनि उहाँ अहिले मकवानपुरको वासिन्दा हुनुहुँदो रहेछ । गौतमको देब्रे गोडामा गोलीका छर्रा लागेका छन् । छर्राले दुई वटा खोपिल्टा परेको उहाँको पनि छर्रा निकालिएको छ । नियमित गोलो चस्मा लगाउने ५६ वर्षीय गौतम पेशाले गाडी चालक हुनुहुँदो रहेछ । धेरै पूर्व प्रशासकहरुको समेत चालक रहनु भएका गौतमलाई पनि आन्दोलनमै सहभागी भएर भन्दा पनि माहोल हेर्न जाने सिलसिलामै छर्रा लागेको रहेछ । ठूला राजनीतिक दलहरुसँग केही असन्तुष्ट रहनु भएको गौतममा अहिले पनि परिवर्तनको हुटहुटी भने रहेछ । एउटै वार्डमा बसेपछि विस्तारै नजिक हुनुभएका गौतमलाई राजा आइहाल्छन् भन्ने विश्वास त रहेनछ । तर, दलहरुलाई खवरदारी गर्नका लागि पनि आन्दोलन भने आवश्यक भएको निर्कर्षमा पुग्नु भएका गौतमले भने आन्दोलनमा आफू घाईते हुनुमा राज्यपक्षको पनि दोष भएको उल्लेख गर्नुभयो । दुर्गा प्रसाईँको नेतृत्वमा भएको आन्दोलनमा रणनीतिक नेतृत्व क्षमता नभएका कारण पनि मानवीय र भौतिक क्षति बढी भएको हो भन्ने निष्कर्शमा पनि उहाँ पनि हुँनुहुँदो रहेछ । परिवारका सबै जनाले अव आयन्दा त्यस्तो आन्दोलनमा नजान सुझाव दिइरहेका थिए । उहाँ भने उपचार सम्पन्न गरेपछि र लयमा फर्किएपछि जाने–नजाने निष्कर्षमा पुग्ने मनस्थितिमा हुँनुहुँदो रहेछ । ‘राज्यले जनतालाई सन्तुष्ट बनायो भने आन्दोलनको आवश्यक नै पर्दैन,’ उहाँले भन्नुभयो, ‘परिवर्तनका लागि अरुलाई आन्दोलन गर्न नदिने भन्दा पनि दलहरुले पनि जनतालाई खुशी कसरी बनाउन सकिनछ भनेर योजना बनाउनुपर्छ । हामी अहिले उपचार गराइरहेका छौँ । हामीलाई राज्यले पनि अहिलेसम्म सोधेको छैन । आन्दोलनकारीले पनि के–कस्तो छ भनेर सोधिखोजि गरेका छैनन् । मिडियाहरुले सोधिखोजि गर्दा त अवश्य पनि राज्य र आन्दोलनकारी दुबैतर्फबाट थाहा भयो होला । हाम्रो माग भनेको एउटै छ । सकिन्छ भने हामीलाई थप सहज उपचारका लागि सहजिकरण गर्नु । सकिँदैन भने भने थप पीडा नदिनु ।’
विशाल निरौला बेड नम्बर–२४९
केएमसी अस्पतालकै प्लास्टिक वार्डको २५९ बेड नम्बरमा उपचार गराइरहनु भएका सोलुखुम्बु जिल्लाको दूधकण्ड नगरपालिका–५ घर भएका २२ वर्षीय विशाल निरौला पनि शुक्रबार नै त्यहाँ आइपुग्नु भएको रहेछ । युवा जोसका निरौला पशुपति बहुमुखी क्याम्पसको स्नातक पहिलो वर्षमा अध्ययनरत हुनुहुँदो रहेछ । लामो कपाल पालेका विशाल पनि त्यो दिन आन्दोलनमा जाने भनेर भन्दा पनि साथीको घरमा जान भनेर निस्केका बेला गोलीको छर्राबाट घाइते हुनुभएको रहेछ ।
अलिक चञ्चले स्वाभावका विशालसँग पनि चार दिन अस्पताल बस्दा नजिकको साइनो बन्यो । म केही घण्टा हराएँ भने पनि वार्डमा पुग्ने वित्तिक्कै ‘अंकल कता हराउनुभयो रु तपाईँ भएपछि यो दुखाई पनि कम भएको महशुस हुन्छ’ भन्दै ठट्टा गर्ने उहाँ यस्तो आन्दोलनमा कहिल्यै पर्नु भएको रहेछन् । मैले ०६२–०६३ को राजा हटाउने आन्दोलनमा सहभागी हुँदा टाउकोमा पुलिसले लाठ्ठी चार्ज गरेको र टाँका नै लगाउनु पर्ने अवस्था आएको स्मरण गराउँदा युवा जोसका आशिष र विशाल मुस्कुराउँदै एकै स्वरमा ‘अंकल राजा हटाउने आन्दोलनमा घाइते ुहुनुभएको रहेछ । हामी राजा ल्याउने आन्दोलमा घाइते भयौँ’ भन्दै ठट्टा गर्थे ।
विशाललाई पनि राजा आइहाल्लान भन्ने विश्वास भित्रबाट त रहेनछ् । तर, आन्दोलनको रस भने गोलीको छर्राले भेटेपछि झन् बढेको रहेछ । मैले पनि विशाललाई ठट्टा गर्दै ‘अब उपचार गरेर फर्किएपछि फेरि आन्दोलनमा जाने कि, पुग्यो रु’ भनेर प्रश्न गरेँ । विशालले पनि ठट्यौली पारामै भन्नुभयो– ‘घरपरिवारले दुःख गरेर पढाएका छन् । पढे अनुसारको जागिर पाउँन नै मुस्किल छ । कम्तिमा जागिरमा जोडिएको भए त्यतै व्यस्त भइन्थ्यो । फुर्सदिलो भएपछि आन्दोलनको रमझम हेर्न जाऔँजाऔँ लाग्ने रहेछ । मलाई त गोलीका छर्रा लागेपछि फेरि आन्दोलनमा जाऔँ–जाऔँ जस्तो जोस बढेर पो आएको छ । तर, आन्दोलनको नेतृत्व गर्ने दुर्गा दाई नै बेपत्ता हुुनुहुन्छ’ भन्दै वार्ड नै थर्किने गरी हाँस्न थाल्नुभयो । छेउमै बस्नु भएकी विशालकी आमाले प्याट्ट हिर्काउँदै ‘अब फेरि जालास्, तँलाई १ के अझै गोली खान मनलाग्यो रु’ भन्नुभयो । विशालले पनि आमाको माया मिश्रित गालीलाई हाँसेर पचाउँदै ‘हेहेहे’ भनेर टार्नुभयो ।
कुमारजङ्ग राणा बेड नम्बर–२६२
चैत १५ कै आन्दोलनमा घाइते भएका मध्ये एक हुनुहुन्छ । कुमारजङ्ग राणा पनि । ४७ वर्षका राना लामो समय मलेसिया बसेर बसेर आउनु भएका राणाकी श्रमती मनिता राणा पनि अहिले केएमसी अस्पतालमै बसेको ६ दिन भयो । श्रीमानलाई गोली लागेको खवरपछि स्तव्ध बन्नु भएकी मनितो तिघ्रा, पिँडुला र ढाडमा छर्रा लागेका आफ्नो पतिको स्याहारसुसारमा तल्लिन हुनुहुन्छ । अप्रेशन गर्नु अघिसम्म मनितालाई पनि के–हो रु के–हो रु भन्ने डर रहेछ । घरी श्रीमानको टाउको सुमसुम्याउने त घरी गोलीका छर्राले आलसतालस कुमारजंगलाई साहस भरिदिने गर्दै आउनु भएकी मनिताको मुहारमा अप्रेशनपछि भने केही आशा पलाएको अनुभूति देखिएको थियो ।
पछिल्लो समय फुर्सदिला बन्नु भएका कुमारजङ्गलाई पनि राज्यसँग केही गुनासो भने अवश्य रहेछ । लामो समय विदेशमा बसेर स्वदेशको माटोको मायाले फर्किनु भएका कुमारजङ्गले राज्यसँग धेरै भन्दा पनि गरिखाने वातावरण मात्रै बनाइ दिए पनि हुन्छ भन्ने रहेछ । स्वदेशकै माटोको मायाले फर्किनु भएका उहाँ लामो समयदेखि फुर्सदिलो बस्नु पर्दाको पीडा उहाँले यसरी सुनाउनुभयो– ‘लामो समय विदेशमा बसेँ । स्वदेशमै केही गर्ने आशा बोकेर फर्किएको तर निरासा बाहेक केही हात नलागेपछि र फुर्सदिलो भएपछि यस्ता आन्दोलनहरु हेर्न भए पनि जाने रहर बढ्ने रहेछ । गोलीका छर्राले गलेको शरीरलाई बेडमै अडेसा लगाउँदै उहाँले पीडा मिश्रित गुनासो गर्नुभयो ।
त्यो दिन पनि श्रीमती मनिताले आन्दोलनमा नजानु है भनेर काममा निस्किनु भएको रहेछ । तर, सामाजिक सञ्जालमा आन्दोलनको माहोल देखेपछि घरमा बस्न मनै नलागेपछि नस्किनु भएका उहाँ गोलीका छर्रा खाएर फर्किनु भएछ । ‘म राज्यको पनि विपक्षमा र आन्दोलनको पक्ष–विपक्षामा छैन,’ उहाँले भन्नुभयो, ‘राज्यले जिम्मेवार बनोस् । हामी जस्ता नागरिकको आशा–भरोसाको केन्द्र राज्य बन्यो भने हामी निरासाको व्यापार गर्न छाडिहाल्छौँ नि १,’ राजनीतिक सुझवुझसहितका उहाँले राज्य र राजनीतिक दलका गतिविधिप्रति केही असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, ‘जे हुनु थियो भैसक्यो । अब हामीलाई राज्य र आन्दोलनकारी दुबैतर्फबाट अन्याय नहोस् । सक्नुहुन्छ हामीलाई न्याय दिनुहोस् । दुबैतर्फबाट थप पीडाको आवश्यक हामीलाई परेन ।’
कुमारजंग राजावादी आन्दोलनमा सहभागी हुन गएको भनेर उनको परिवारले खुलस्त बताएको छैन ।
रुद्रबहादुर कार्की बेड नम्बर–२५७
बुबासँगैको अर्कोतर्फको बेडमा रहनु भएका सिन्धुली दुधौलीका रुद्रबहादुर कार्की पनि चैत १५ को आन्दोलनका घाइते मध्येकै एक हुनुहुन्छ । उहाँकोचाँहि घटना अलिक फरक रहेछ । अरु पाँच जना जस्तो उहाँलाई गोली लागेको होइन रहेछ । गाडीलाइनमा काम गर्ने उहाँ पनि त्यो दिन आन्दोलनमा भन्दा पनि आन्दोलनको माहोल हेर्न जानु भएको रहेछ । आफ्नो गरिखादैँ आउनु भएका उहाँले अलकत्रमा जलेको हात देखाउँदै भन्नुभयो ‘दशा भन्ने कुरो बाजा बजाएर आउँदैन भन्थे हो रहेछ । आन्दोलन हेर्न गएँको यो हालत भयो । कहिले सञ्चो भएर फर्किने भन्ने अत्तोपत्तो छैन ।’
६ दिनदेखि अस्पतालमा बस्दै आउनु भएको उहाँलाई डाक्टरले अझै केही दिन हेर्ने र थप उपचार कसरी गर्ने भन्ने निर्णय लिने भनेर दिएको आश्वासनकै त्यान्द्रो समातेर बस्नु भएका उहाँ प्रहरीले चार्ज गर्दा भाग्ने क्रममा सिनामंगलको पिपलबोट नजिक प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गर्दा आगोको तापले अलकत्रा पग्लिएको सडकमा चिप्लिदाँ घाइते हुनुभएको रहेछ । अलकत्राल हात–खुटटा पोले पनि हातमा बढी चोट लागेको छ । अहिले उहाँको साहाराचाँहि भिनाजु शंकर थापाले गरिरहनु भएको छ । हँसिलो स्वाभावका कार्की चसक्कचसक्क दुखेको हातलाई कहिले सिरानीमाथि अड्याएर राख्नुहुन्छ भने कहिले जिव्रो टोक्दै ‘एैया आत्था’ गरेर निको हुने प्रतिक्षामा हुनुहुन्छ । उहाँले पनि अरु घाइतेको जस्तै घाइते हुनुमा आफ्नो नभइ राज्य र आन्दोलनकारी दुबै पक्षको कमजोरी भएको भन्दै सकिन्छ भने सहज उपचारमा भूमिका खेल्न र नसकिने भए थप पीडा नदिन आग्रह गर्नुभयो ।
बेड नम्बर–२५१
धादिङका ३० वर्षीय राजकुमार कार्की पनि घाइते मध्येका एक हुनुहुन्छ । उहाँ पनि अहिले केएमसी अस्पतालमै उपचाररत हुनुहुन्छ । पछिल्लो समय पूर्णरुपमा बेरोजगार कार्कीले चार दिनको अस्पताल बसाईँमा लीक्वान युदेखि महाथीरसम्मले सिंगापुर र मलेसिया बनाएको कथा सुनाउन भ्याउनुभयो । राजनीतिमा विशेष रुचि राख्ने राजकुमार अहिलेसम्म पनि अविवाहित हुनुहुँदो रहेछ । मैले ठट्यौली पारामा परिवारसहित भएको भए आन्दोलनमा जानु हुन्थेन कि रु भनेर प्रश्न गरेँ । उहाँले पनि मेरो प्रश्न टुंगिन नपाउँदै जवाफ फर्काउँदै भन्नुभयो– ‘यहाँ एक्लो ज्यान त पाल्न नसकेर धौधौ परेका बेला तपाईँले विवाहको कुरनै नसोध्नुहोस । यहाँ बसेर केही काम छैन । अब विदेश गएर राम्रो कमाएपछि मात्रै विवाहबारे सोच्ने हो ।’
अन्य पाँच जना घाइते जस्तै राजकुमार पनि मेरो चार दिनको अस्पताल बसाईमा नजिक हुुनुभयो । यतिसम्म कि विरामी कुरुवाको बेञ्चमा बसेर गफ चुट्न थालेपछि अत्तोपत्तो नै नहुने । रातको ११ बजेपछि नर्सहरु मेरो छेउमा आउँथे र भन्थे– ‘अंकल प्लिज हजुर अब जसरी भए पनि सुतिदिनु पर्यो । तपाईँ नसुतुन्जेल विरामीहरु प्नि नसुत्ने भए ।’ भित्तामा लेखिएको ‘मुस्कान सहितको सेवा’ नारा जस्तै नर्सहरुका ती मुस्कानसहितका आग्रहले नलागेको निद्रा पनि परेलीका ढोका बन्द भए जस्तो हुन्थ्यो र बुबा सुतेको बेड मुनि म्याट र तन्दा विच्छ्याएर पल्टिन्थे । तर, राजकुमारका कथा भने सकिएका हुँदैनथे । उज्यालो भएदेखि फेरि त्यहि दैनिकी सुरु हुन्थ्यो । प्लाष्टिक सर्जरी वार्डमा आन्दोलनका घाइते बाहेक अन्य विरामी पनि थिए । चार दिन त्यहाँ बस्दा सबै एकाघरको परिवार जस्तै भएर बसियो । हिजो बुबाको सामान्य अप्रेशनपछि आज डिस्चार्ज हुनुभयो । हिजो बुबालाई सर्जरी वार्डमै राखियो । प्लास्टिक वार्डका घाइते र अन्य विरामीहरुसँग भेट भएन । आज छुट्ने बेलामा उहाँहरुसँग भेट गर्न गएको थिएँ । एकै घरको परिवार छुट्ने बेलामा जस्तै भयो । सबैलाई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै विदा भएँ । नर्स ।।।थापा पनि त्यहिँ हुनुहुन्थ्यो । मैले उहाँलाई पनि छुट्ने बेलामा भित्तामा लेखिएको नारा जस्तै ‘मुस्कानसहितको सेवा’मा कुनै अभाव हुन नदिइ रात्रिकालिन सेवामा पनि तल्लिन हुनुभएको देख्दा खुशी लाग्यो भन्दै नेपालका ‘फ्लोरेन्स नाइटिङ्गेल’ बन्नु भन्ने शुभकामना दिएर विदा भएँ ।
सगरमाथा संवाद
१२ बैशाख २०८२, शुक्रबार