काठमाडौं, ११ बैशाख । बैशाख ११ तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनताका सामु घुँडा टेकेको दिन हो । तत्कालीन राजा शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको दिन पनि हो । २०६३ वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले नेपाल अधिराज्यको राज्यशक्तिको स्रोत नेपाली जनता नै भएको र नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता नेपाली जनतामा नै निहित रहेको तथ्यलाई महशुस गर्दै जनताको नासो जनतालाई नै सुम्पिएको दिन पनि हो ।
बैशाख ११ दुई सय ४० वर्ष लामो शाहवंशीय निरंकुश राजतन्त्रको अन्त्यको आधार तयार भएको दिन मात्रै होइन जनताले जितेको दिन पनि हो । त्यसैको जगमा २०६५ साल जेठ १५ गते नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषण भएको थियो । त्यहि दिनको उपलव्धिका रुपमा जनप्रतिनिधिबाट संविधान बन्यो
वंश परम्परामा आधारित शासन व्यवस्थाको अन्त्य भयो अनि जनताका छोराछोरी नै राष्ट्र प्रमुख हुने हैसियत बन्यो । यी सबै गणतन्त्र स्थापनाका मूलभूत विशेषता हुन् । अस्थिरता, अराजकता र पश्चमगनलाई अस्वीकार गरेको दिन पनि हो बैशाख ११ । व्यवस्था फेरिएको दिन पनि हो बैशाख ११ । मुलुका व्यवस्था फेरिएको पनि १७ वर्ष भयो । अब मुलुकको अवस्था परिवर्तन पहिलो शर्त हुनुपर्छ । त्यति मात्रै होइन समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवाहरुले सङ्कल्प र तागत देखाउनुपर्छ । विदेश पलाएन हुने कमजोर मानसिकताबाट गुज्रिएर होइन निरासाबाट माथि उठेर स्वदेशी माटोमा केही गर्ने संकल्पसहित युवाहरुले आशाको दियो बाल्ने संकल्प पनि अब गर्नुपर्ने छ ।
हो, निरंकुश व्यवस्थाका कारण देश लामो समय अन्धकारकारको युगमा गुज्रिएको कालो इतिहास हाम्रा सामू छ । अब त्यो कालो इतिहासको गाथा गाएर होइन युवालाई थप जागरुक बनाएर हामी सक्छौँ, हामीले नसके कस्ले सक्छ ? यो देश मेरो हो, हाम्रो भन्ने भावना बोकेर सबै एकजुट हुनुपर्ने अवस्था सिर्जना भएको छ । हो, हामीले लोकतन्त्रको परिभाषा खोज्ने हो भने यसको पनि विशिष्ट अर्थ रहेको देखिन्छ । लोक र तन्त्र मिलेर लोकतन्त्र बन्छ ।
लोकको अर्थ जनता र तन्त्र भनेको शासन हो अर्थात जनताको शासन । यो शब्दको उत्पत्तिलाई हेर्ने हो भने पनि लोकतन्त्र भनेको जनताको शासन भन्ने नै हो । हामीले लोकतन्त्रको अर्थ अंग्रेजीमा खोज्ने हो भने पनि ‘डेमोक््रयासी’ हो । डेमोक््रयासी पनि ग्रीक भाषाको डेमोस र क्रेसिया मिलेर बनेको हो ।
डेमोसको अर्थ जनता र क्रेसियाको अर्थ शासन भन्ने हुन्छ । हामीले अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिङ्कनका भनाइलाई आधार मान्ने हो भने पनि उहाँले लोकतन्त्रलाई जनताको,जनताका लागि र जनताद्वारा गरिने शासन भनि व्याख्या गर्नुभएको छ । हो, यो लोकतन्त्रको सुन्दर साझा फुलवारी पनि हो । यो फुलबारीमा फुलेका फूलहरुलाई अझै सुन्दर बनाउन सबैको हातेमालो आवश्यक छ ।
हामीले यहि सुन्दर दिनको अवसर पारेर ‘सगरमाथा संवाद’ अनलाइन सुरु गरेका छौँ । हामी हाम्रो माटोलाई माया गर्छौ, हामीलाई हाम्रो राष्ट्रप्रेम सगरमाथ जत्तिकै उच्च छ । त्यसैले हामीले धेरै अथक प्रयासबाट विश्वको सर्वोच शिखर सगरमाथासँग कहिल्यै नछुटिने साइनो जोड्ने उत्साह पैदा भयो । हामीले त्यहि उत्साहलाई ज्युँदो राख्न अनलाईनको नाम पनि सगरमाथा खोज्यौँ । सगरमाथाका पछि संवाद जोडेपछि ‘सगरमाथा संवाद’ बन्यो । हामीले सबै भन्दा प्रिय नाम यसैलाई ठान्यौँ र यो अनलाइन गणतन्त्रका दिन सुरुवात गर्दा हुन्छ भन्ने ठानेर हामीले बैशाख ११ गतेबाट सुरुवात गर्यौ ।
हामी हतारमा छैनौँ । हाम्रो प्रतिष्पर्धा कसैसँग पनि छैन । हामी राष्ट्रप्रति वफदार भएर, यहाँको माटोप्रति इमानदार भएर, अनि लोकतन्त्रप्रति दत्तचित्त भएर संमृद्धिको संकल्पमा केही इट्टा थप्ने राज्यका प्रयासहरुमा हातेमालो गर्न चाहन्छौँ । हामीले सुरुवात गरेका छौँ । तपाईँहरुका सकारात्मक सुझावको हामी सदैव प्रतिक्षामा छौँ । हामीले यो असल प्रयासका लागि सुरुवात गरेका हौँ ।
बजारमा हजारौँ अनलाइनहरुका भीडमा हामी अलग पहिचानसहित आएका छौँ भनेर हामी घमण्ड गर्दैनौँ । तर, हामी यसो भन्दै गर्दा सकेसम्म केही नयाँ दिने प्रयासमा भने लाग्ने छौँ । अहिले विश्व नै जलवायु परिवर्तनको चपेटामा परेको छ ।
हामी सकेसम्म यी विषयका बहस गर्ने प्रयास गर्नेछौँ । हामी लोकतन्त्रलाई अझ सुन्दर बनाउन हाम्रो भूमिका के हुन सक्छ ? त्यसमा सचेत रहने प्रयास गर्ने छौँ । हामी सकारात्मक सोचँसहित अघि बढ्ने प्रयासमा भने निरन्तर रहने छौ । हामी तपाईँहरुको भाग खोस्ने होइन हामी हाम्रै राजमार्ग निर्माणको अटल उदेश्य बोकेर आएका छौँ । हामी सबै हातेमालो गरेर अघि बढौँ ।
सगरमाथा संवाद
१२ बैशाख २०८२, शुक्रबार