काठमाडौं, १२ जेठ । राजवादीहरुले आगामी जेठ १५ गते काठमाडौं केन्द्रित व्यापक जनप्रदर्शनको तयारी गरिहेका बेला सरकारको नेतृत्व गरेको नेकपा (एमाले) त्यसलाई निस्तेज पार्न जेठ १५ गते नै विशाल जनप्रदर्शनको तयारी गरेको छ ।
जेठ १५ गतेदेखि नवराज सुवेदी नेतृत्वको ‘संयुक्त जनआन्दोलन समिति’ ले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डासहित आन्दोलन गर्ने घोषणा गरेको छ। यसमा तीनतिर फर्किका राप्रपा, राप्रपा नेपाललगायत राजावादी, पुनर्रुत्थानवादीहरू पनि एक ठाउँ आएका छन् ।
गणतन्त्र विरोधीहरुले गणतन्त्र दिवसकै दिन पारेर यस्तो आन्दोलनको तयारी गरेपछि एमालेले त्यसलाई कमजोर बनाउन तयारी थालेको हो ।
एमाले सचिवालय बैठकले जेठ १५ गते राजवादीको आन्दोलनको प्रतिवाद गर्ने र ७ दशक लामो बलिदानी संघर्षको बलबाट प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिन जेठ १५ गतेलाई विशेष उत्सवका रूपमा मनाउन जनसमुदायलाई आह्वान गर्ने निर्णय गरेको थियो।
२०६५ जेठ १५ गते पहिलो संविधानसभाको बैठकले गणतन्त्र घोषणा भएको हो। २०६२–६३ को जनआन्दोलनपछि २४० वर्ष लामो राजतन्त्र अन्त्यपछि गणतन्त्र आएको हो। गणतन्त्र आएको १७ वर्ष भएको छ।

यहि सन्दर्भ पारेर एमालेले जेष्ठ १५ गते आयोजना गर्ने विशाल जनप्रदर्शनलाई सफल पार्न आजैको भेलाले नेताहरुलाई विभिन्न जिम्मेवारी पनि दिएको छ । महासचिव शंकर पोखरेलका अनुसार गणतन्त्र दिवशलाई आम जनताले सम्झने गरी मनाउन र राजावादीहरुले फैलाएका भ्रमहरु चिर्नका लागि जनप्रदर्शनको तयारी गरिएको हो ।
जनसंगठनका अध्यक्ष,इन्चार्ज र काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका वडा तहसम्मका पदाधिकारीहरुको भेलामा महासचिव पोखरेलले नेताहरुको जिम्मेवारी बाँडफाँडको जानकारी गराउनुभएको हो । पोखरेलका अनुसार काठमाडौं जिल्लाबाट व्यापक मात्र जनमानस परिचलान गर्नका लागि बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
जनसंगठनहरुको संयोजन गर्नका लागि सचिव गोकर्ण विष्टलाई जिम्मेवारी दिइएको छ । विष्टलाई सबै जनसंगठनका इन्चार्जहरुले सघाउनुहुनेछ । एमालेमा ठूलो जनधार भएको संगठनको रुपमा रहेको सम्पर्क समन्वयको संयोजनको जिम्मेवारी विभिन्न भूगोल अनुसार फरक फरक नेताहरुलाई दिइएको छ ।
जस अनुसार सुदुरपश्चिम र र कर्णाली प्रदेश समन्वयको जिम्मा सचिव लेखराज भट्ट बागमती प्रदेशका जिल्लाको जिम्मा उपमहासचिव प्रदिप ज्ञवालीलाई दिइएको छ । लुम्बिनी र गण्डकीका सबै जिल्ला समन्वयको जिम्म सचिव पद्मा अर्याललाई तोकिएको छ । कोशी प्रदेशका जिल्लाहरुको समन्वय गर्न उपाध्यक्ष रामबहादुर थापालाई जिम्मेवारी दिएको छ । मधेस प्रदशका आठवटै जिल्लाका सम्पर्क मञ्चहरुको समन्वय गर्न उपाध्यक्ष युवराज ज्ञवालीलाई जिम्मेवारी दिइएको छ ।
उपत्यकाका जनप्रदर्शनमा ठूलो संख्यामा सहभागी गराउने ललितपुर र भक्तपुरको समन्वय गर्न उपाध्यक्षहरु क्रमश अष्टलक्ष्मी शाक्य गुरु बराललाई जिम्मेवारी तोकिएको छ । उपत्यका बाहेक बागमती प्रदेशका १० वटा जिल्लाको समन्वयको जिम्मेवारी उपाध्यक्ष सुरेन्द्र पाण्डेलाई दिइएको छ ।
स्वयंसेवक परिचालनका लागि उपमहासचिव एवं प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाललाई जिम्मेवारी दिइएको छ । उपत्यका विशेषको संयोजन सचिव योगेश भट्राईलाई दिइएको छ । सबै विभागको संयोजनको जिम्मेवारी सचिव छविलाल विश्कर्मालाई दिइएको छ ।
गणतन्त्र दिवशका दिन जेष्ठ १५ गते विहान ११ बजे भृकुटी मण्डपमा एमालेका नेता कार्यकर्ता झाँकी र जुलुस र आफ्नो पार्टी,जनसंगठनको पहिचान सहित उपस्थित हुन पनि आजको भेलाले निर्देशन गरेको छ । हिजोको सचिवालय बैठकले जेष्ठ १५ गते काठमाडौं सहित सबै पालिकाहरुमा गणतन्त्त दिवश भव्यताका साथ मनाउने निर्णय गरेको हो ।
सगरमाथा संवाद
१३ जेष्ठ २०८२, मंगलबार