काठमाडौं, २३ जेठ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको दौडधूप अहिले बाक्लो बन्न थालेको छ । भण्डारी एमाले नेताहरु र सरकारका मन्त्रीसहितको प्रतिनिधि मण्डलको नेतृत्व गर्दै गत जेठ १० गते चीन भ्रमणमा गएकी थिइन ।
१० दिने चीन भ्रमणमा उनले उपराष्ट्रपति हान चेङ, सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायतका चिनियाँ नेताहरुसँग भेटवार्ता गरेकी थिइन्। भ्रमण पूरा गरी गत सोमबार बिहान नेपाल फर्किएकी भण्डारी अहिले पूर्वी नेपालको भ्रमणमा निस्किएकी छिन् ।
विराटनगरमा देशैभरका उपप्रमुखहरूको भेला उद्घाटन गरेर झापा पुगेकी भण्डारीले शनिबारदेखि सुरु हुने कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम छ । नेकपा (एमाले) को विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको सो प्रदर्शनी देवी मावि बिर्तामोडमा आयोजना गरिने छ ।
कोशी प्रदेश इन्चार्ज शेरधन राई,एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरी,अनेम सङ्घकी केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले,बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा प्रसाईं,पार्टीका उपाध्यक्ष शिव ढुङ्गेल लगायतले स्वागत गरेका थिए ।
भण्डारी नारी सञ्चार गृहले आयोजना गर्ने एक कार्यक्रममा पनि सहभागिता जनाउने बुझिएको छ । केही समय अघि भण्डारीले एमालेमा फर्किने संकेत गरेपछि एमाले भित्र एक खालको खैलाबैला सुरु भएको छ ।
सगरमाथा संवाद
२५ जेष्ठ २०८२, आइतबार