पद्मरत्न तुलाधरको योगदानबारे चर्चा, नेपाल भाषा प्रवर्द्धन गर्ने सात जना सम्मानित

सगरमाथा संवाद


काठमाडौँ, २४ जेठ । नेपाल भाषालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवर्द्धन गर्न योगदान पु¥याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको छ । पद्मरत्न लुमन्ति गुथीद्वारा आज आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले नेपाल भाषाको प्रवर्द्धनमा काम गर्ने राष्ट्रियसभा सदस्य अन्जान शाक्य, काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ महानगरपालिका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, प्रकाश पालिखे, कृष्ण उदास, ज्ञानकाजी शाक्य र जीवनराम मानन्धर मरणोपरान्तरलाई कदर पत्रले सम्मान गरे ।

त्यस अवसरमा मन्त्री अधिकारीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक नेपाल धार्मिक सहिष्णुताको उदाहरणीय रहेको बताए । उनले नेपालमा बोलिने भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्न सबै जाति समुदायले आफ्ना भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्नुपर्नेमा जोड दिए ।

सम्मानित पछि बोल्दै डाक्टर शाक्यले सम्मानपछि आफ्नो धारणा राख्दै नेपाल भाषाको आन्दोलन नेपालमा शुरु भएका कुनै पनि अधिकारवादी आन्दोलनमा पद्मरत्न तुलाधरको अग्रणी भूमिका रहेको स्मरण गरिन । सम्वोधनकै क्रममा उनले समग्र कृषिक्षेत्रको विकासका लागि उत्कृष्ट कृषि केन्द्र (एग्रिकल्चर सेन्टर अफ एक्सीलेन्स) स्थापना गर्नुपर्ने बताइन् । आफू राजदूत हुँदा पनि त्यस सन्दर्भमा सकारात्मक भुमिका खेलेको उनले स्मरण गरिन ।

प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले हाम्रा मौलिक संस्कृति, परम्परा, भाषा राष्ट्रको गौरव भएकाले त्यसलाई संरक्षण र सम्वर्द्धन गर्नुपर्ने विचार व्यक्त गरे। राष्ट्रको भाषा तथा संस्कृति लोप भएमा देशको अस्तित्व सङ्कटमा पर्नेतर्फ सम्बन्धित सबै निकायको ध्यानाकर्षण गरे ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले मुलुकमा १३४ भाषा प्रचलनमा रहेको जानकारी दिँदै आयोगले लोपोन्मुख भाषा संरक्षणका लागि कार्य गर्ने बताउनुभयो । गुथिका अध्यक्ष डा केशवमान श्रेष्ठलगायतले भाषा मानव समुदायको नीति भएको बताउँदै निजी तथा सामुदायिक विद्यालयले भौगोलिक विशेषताका आधारमा भाषा तथा साहित्य प्रवर्द्धन हुने गरी पठनपाठन गराउनुपर्ने बताए ।
त्यसैगरी उपप्रमुख डंगोलले नवपुस्तालाई अघि बढाउन तुलाधरको योगदान विशिष्ट रहेको उल्लेख गरिन। युवा पुस्ताले तुलाधरको योगदानलाई पछ्याउँदै अघि बढ्नुपर्नेमा पनि जोड दिइन । उनले बहुआयमिक व्यक्तित्वको सम्मानका लागि पनि युवा पुस्ताले उहाँको पदचापलाई पछ्याउनु पर्ने उनको भनाई थियो ।

कार्यक्रममा मातृभाषाको महत्व र ऐतिहासिक पक्ष, बागमती प्रदेश सरकारबाट जारी भएको प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० का अवसर र चुनौतीलगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो ।

पूर्व स्वास्थ्य तथा श्रममन्त्रीको समेत जिम्मेवारी सम्हाल्नु भएका तुलाधरले नेपालको शान्ति प्रक्रियामा पनि ठूलो योगदान गर्नुभएको थियो । नेकपा एमालेको समर्थनमा विसं २०४८ र विस २०५२ मा काठमाडौँबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित तुलाधर विसं २०५३ मा श्रम तथा स्वास्थ्यमन्त्री समेत बन्नुभएको थियो ।

उहाँको योगदानको चर्चासँगै गरिएको आजको कार्यक्रमको सभापतित्व भने पद्मरत्न लुमन्ति गुथिका अध्यक्ष डाक्टर केशवमान शाक्यको सभापतित्वमा सम्पन्न भएको थियो ।