निवर्तमान राष्ट्रपतिको पूर्वतिरको दौडधूप, तीन दिनदेखि कोशी प्रदेशमा

सगरमाथा संवाद


झापा, २४ जेठ । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी अहिले पूर्वी नेपालको भ्रमणमा छिन् । विभिन्न कार्यक्रममा सहभागी हुँदै उनले जनतासँगको भेटलाई पनि वित्र बनाएकी छिन् । पूर्व भ्रमणकै क्रममा भण्डारी विभिन्न कार्यक्रममा पनि सहभागी भएकी छिन् । उनले सोही क्रममा झापाको बिर्तामोडमा आजदेखि सुरु कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनी कार्यक्रमको उद्घाटन गरेकी छिन् । उनले सो प्रदर्शनीको उद्घाटन गर्दै सबै क्षेत्रमा विज्ञान तथा प्रविधि निर्णायक बन्दै गएको बताएकी छिन् ।
नेकपा (एमाले) कोशी प्रदेशको विज्ञान तथा प्रविधि विभागले आयोजना गरेको प्रदर्शनीमा बोल्दै निवर्तमान राष्ट्रपति भण्डारीले परिवर्तनको आधार नै विज्ञान प्रविधि भएकाले सामाजिक, राजनीतिक,नीजि क्षेत्र र राज्य पक्षले यसमा लगानीलाई प्राथमिकता दिनुपर्ने बताइन् ।
नेपाली विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधिमा दक्ष बनाएर विश्वस्तरीय प्रतिष्र्धी बनाउन आवश्यक रहेको भन्दै विज्ञान प्रदर्शनी जस्ता कार्यक्रमहरु आयोजना गर्न जरुरी रहेको धारणा व्यक्त गरिन।

‘विज्ञान तथा प्रविधिमा दक्ष बनाउने हामी सबैको दायित्व हो, उहाँले भन्नुभयो,‘ विज्ञानलाई प्रयोगशालामा मात्र सिमित गर्न हुदैन, यसलाई विकाससँग जोडेर लैजानुपर्छ,’ उनले भनिन् । उनले विद्यालय तहबाटै विद्यार्थीहरुलाई वैज्ञानिक सोच र प्रविधिमा रुची जगाउन आवश्यक रहेको बताउँदै शिक्षामा भौतिकसँगै प्रविधिमा लगानी गर्न आवश्यक रहेको पनि बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले आजका बालबालिकाहरुलाई पाठ्यक्रममा मात्र सिमित बनाउन नहुने धारणा व्यक्त गरिन् । बालबालिकाहरुलाई वैज्ञानिक दृष्टिकोणबाट सोच्न सक्ने बनाए मात्रै मुलुकको समृद्धि संभव हुने बताइन् ।
प्रदर्शनीमा प्रथम हुने विद्यालयले चार लाख, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना हुनेले एक लाख नगद पुरस्कार प्राप्त गर्ने विभागका प्रमुख गणेश पोखरलले जानकारी दिए ।

प्रदर्शनीमा १२ जिल्लाका ७० वटा विद्यालय सहभागी भएका छन् । विद्यालयहरुले स्टलमार्फत विज्ञान प्रदर्शनी गरिरहेका छन् भने विद्यार्थी र सहभागी शैक्षिक सरोकारवाला, पार्टी नेतृत्वहरुले अवलोकन गरिरहेका छन् ।