काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपालका लागि जापानका नवनियुक्त राजदूत मायदा तोरूले सोमबार शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरवारमा भएको भेटमा सभामुख घिमिरेले राजदूत मायदालाई नेपालका लागि जापानका नवनियुक्त राजदूतका रूपमा कार्यभार सम्हालेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाल र जापानबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्न राजदूत मायदाको कार्यकाल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
सभामुख घिमिरेले नेपाल र जापानबीच सन् १९५६ मा स्थापना भएको औपचारिक कूटनीतिक सम्बन्ध मैत्रीपूर्ण ढंगले अगाडि बढिरहेको उल्लेख गर्दै भूकम्प लगायत प्राकृतिक विपत्तिका बेला जापानले दिएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि विश्वासिलो विकास साझेदारको रूपमा रहँदै आएको उल्लेख गर्नुभयो ।
सभामुख घिमिरेले नेपाल–जापान सम्बन्धलाई थप उचाइमा पु¥याउन दुवै मुलुकबाट उच्चस्तरीय भ्रमण आदान–प्रदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले २०१९ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको राज्यारोहण समारोहमा सहभागिता जनाउन गरेको जापान भ्रमण र २०२३ मा जापानकी विदेशमन्त्री कामीकावा योकोको नेपाल भ्रमणको विशेष स्मरण गर्नुभयो ।
नेपालको भौतिक पूर्वाधार विकासमा जापानको सहयोग उल्लेखनीय रहेको बताउँदै सभामुख घिमिरेले नागढुंगा सुरुङमार्ग परियोजनामा जापानको सहकार्य महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आगामी २०२६ मा नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव तथा नेपाल विकासशील राष्ट्रको सूचीमा उक्लने सुखद संयोग रहेको उल्लेख गर्नुभयो ।
नेपाल जापानमा हुने ‘२०२५ वल्र्ड एक्सपो’ मा सहभागी हुन लागेको सन्दर्भ उल्लेख गर्दै सभामुख घिमिरेले जापानमा हुने उक्त एक्सपोले नेपाली उत्पादन प्रचार–प्रसारमा सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा जापानका नवनियुक्त राजदूत मायदा तोरूले आफू २७ वर्षअघि नेपाल आएको स्मरण गर्दै तीन दशकमा नेपालको लोकतन्त्र र विकासले उल्लेखनीय फड्को मारेको बताउनुभयो । उहाँले दुई देशको सम्बन्ध जनस्तरमा समेत रहेको बताउँदै संसदीय आदान प्रदानमा जोड दिनुभयो ।
नेपाल र जापान दुवै मुलुक प्राकृतिक जोखिममा रहेको बताउँदै राजदूत मायदाले सन् २०११ मा जापानमा गएको विकासकारी भूकम्पमा नेपाली समुदायले गरेको राहत र उद्दार सहयोगको प्रशंसा गर्नुभयो । ‘आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्धलाई थप मजबुत बनाउन पहल गर्ने प्रतिबद्धता जनाउँछु,’ उहाँको भनाइ थियो, ‘दुई देशबीचको द्विपक्षीय व्यापार, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तारका लागि म तत्पर छु ।’
जापानमा युवाहरूको संख्या घट्दै गएको उल्लेख गर्दै राजदूत मायदाले नेपालका आफ्नो मुलुक राम्रो श्रम गन्तव्य हुने विश्वास व्यक्त गर्नुभयो ।
सगरमाथा संवाद
१५ बैशाख २०८२, सोमबार