गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका अप्ठ्यारालाई सम्बोधन गर्न तयार छुः गृहमन्त्री

सगरमाथा संवाद


काठमाडौं, १२ बैशाख । गृहमन्त्री रमेश लेखकले गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा देखा परेका सबैखाले अप्ठ्यारालाई सम्बोधन गर्न सरकार तयार रहेको बताएका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा गैरआवासीय नेपाली संघका अध्यक्ष डा केसी नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा गृहमन्त्री लेखकले गैरआवासीय नेपाली नागरिकता लिएपछि संविधानतः पाउने अधिकार प्रदान गर्न सरकारले कञ्जुस्याइँ नगर्ने बताए । ‘तपाईहरुलाई नेपालको संविधानले दिने भनेको अधिकार दिने नै हो तर त्यसका लागि आवश्यक ऐन कानूनको निर्माण भइरहेको अवस्थामा केही ढिलाई भयो होला त्यसलाई अन्यथा लिनु भएन,’ उनले भने ।

गैरआवासीय नेपाली ऐनको संशोधनको मस्यौदा परराष्ट्र मन्त्रालयमा भइसकेको जानकारी गराउँदै गृहमन्त्री लेखकले गैरआवासीय नेपाली ऐनमा चाहेको संशोधन के–के हो त्यसबारे छलफल गरौँ भनी माग गरे । उनले आफूले पनि उक्त मस्यौदाको अध्ययन गर्ने आश्वासन दिए ।

त्यसअघि संघका अध्यक्ष डा बद्री केसीले सरकारले गैरआवासीय नेपाली नागरिकता दिएपछि सरकारले नै उक्त नागरिकता नचिनेको भन्दै ध्यानाकर्षण गराए ।